कटारी / कटारीमा आज उभौली पर्व धुमधामका साथ मनाईएको छ । किरात राई यायोक्खा कटारीको आयोजनामा कटारी स्थित साकेला थानमा औपचारिक कार्यक्रम सहित उभौली मनाईएको थियो ।
यायोक्खाका कटारी अध्यक्ष मेनुका राईको सभापतित्व र वुद्धिजिवी तथा यायोक्खाका सल्लाहाकार कुमारसिंह राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी , साकेला सिली नाच्दै , शुभकामना आदान प्रदान गरी उभौली मनाईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि राईले संस्कार जोगाउन सके मुलुक समृद्ध वन्ने बताउनुभयो ।
चीनले संस्कार जोगाएकै कारण विश्वको अर्थतन्त्रमा अब्बल वन्न सकेको राईको भनाई थियो । त्यसैगरी राई समुदाय प्रकृति पुजक र समाजवादी चिन्तनको भएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रमको अवसरमा उभौली , उधौली मनाउनका लागि यायोक्खाले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने , अन्य सहयोगी तथा विभिन्न सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो । यायोक्खाका कटारी अध्यक्ष मेनुका राईका अनुसार यस वर्ष आकर्षक पोडियम सहयोग गर्नुहुने ओखलढुंगे फर्निचरका संञ्चालक बावुराम राई र उहाँकी धर्मपत्नी बालकुमारी राईलाई सम्मान सहित किराँत संस्कार अनुसार फेटा गुंथेर सम्मान गरिएको थियो ।
सामुहिक शुभकामना आदान प्रदान सहित साकेला थानसँगै भूगोलपार्कमा आएर साकेला सिली नाच्दै उभौली मनाईएको थियो । त्यसैगरी सुनुवार सेवा समाजको आयोजनामा कटारीकै चण्डीथानमा उभौलीको अवसरमा विधिवत पुजा आजा गरी उभौली मनाईएको थियो ।
सुनुवारहरुले पनि चण्डीथानसँगै भूगोलपार्कमा राई र सुनुवार समुदायले सामूहिक साकेला र स्याँदर नाच प्रस्तुत गरेका थिए । किरात राई यायोक्खा जिल्ला कमिटी सदस्य निशान राईले दुई किरातीहरु एकभएर यसपटक नृत्य प्रस्तुत गर्दै शुभकामना आदान प्रदान गरिएको बताउनुभयो ।
त्यसैगरी वैशाखेपूर्णीमा दिन कटारीका मगर समुदाय र तामाङ्ग समुदायले वुद्धजयन्ती धुमधामका साथ मनाएका थिए ।

प्रतिक्रिया