कला/साहित्य

कविता , कसलाई पर्खिरहेको होला ?



सबेरै
थकान मारिसकेर
शिखर उक्लिसकेको हो पथिकहरूले ।
हल्लायर पिपलको पात
भञ्ज्याङ कटिसकेको छ –बतासको जुलुस ।
तर कसलाई पर्खिरहेको होला
–रित्तो चौतारोले ?
जो सँग
पर्खिनलाई भरिलो काख पनि छैन अब त ।
ड्याम बाँधेको खोलाको गडतीर जस्तो
बिरक्तिलो छ गाउँ ।
बेंसी झर्नलाई एक सुर्को जाँगर छैन ।
न छ, भञ्ज्याङ निस्किने गोरेटो,
खै कसलाई कुरीबसेको हो
गैरीका फाँटहरूले ?
सहरमा कङ्क्रिट भित्र बस्छन देउता
र सहरबाट कङ्क्रिटकै मुटु बोकेर
गाउँ फर्किन्छ आधुनिक मान्छे,
जसलाई देवी, देवता थाहा छैन
सिमेभुमे पनि थाहा छैन ।
तै पनि
दल्छिन ढुङ्गामा विश्वास राखेर
कसलाई पर्खिरहेको छ –त्यो पुरानो देउराली ?
जहाँ
बाटो छ तर छैन पुग्नु पर्ने उसको ठेगाना ।
चौतारीमा छाडी गएको छ जसले
सम्झनाको मफलर ।
र मफलरकै धागोले बाँधियर
चुपचाप बसिरहेछ बूढो देउराली ।
पर्खिरहेछ…
कतिबेला फर्कि आउला खै
सम्झनाको पाती चढाई गएका हत्केलाको स्पर्श ?
यसरी…
म चुपचाप पढिरहेछु
पर्खिनेहरूको बाक्लो पन्नाहरूको पुरानो डायरी ।
भत्कायर मनको बाँध
फाट्छु भन्छ धैर्यता ।
सिगरेटको धुवाँमा थर्थराउँदै
डायरी पल्टाईरहेछ
मेरो कविता लेखिरहेको हत्केला ।
थाहा छैन
आफ्नै अनुहारमा बृद्द स्केच छापेर
कसलाई पर्खिरहेको हो –धमिलो आँखाहरूले ?
खै के भन्नू र ?
जानेहरूलाई पर्खिनु भनेको त
बस्तारै बिस्तारै आफै खण्डहर हुनु मात्र न रहेछ ।

(यो कविता उदयपुरमा रहेर शसक्त कविता सिर्जना गर्ने युवा पुस्तका कवि आरोहीको फेसबुकबाट लिएका हौं , तपाईसँग पनि आप्mना सिर्जनाहरु छन् भने हामीलाई पठाउनुहोस हामी स्थान दिनेछौं , साहित्यलाई माया गर्नेछौं -सम्पादक )

प्रकाशित : १८ चैत्र २०८१, मंगलबार, ,