राजनीति

राजा ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भन्नु जस्तै हो माओवादी नेता गिरिराजमणी पोखरेल



कटारी/ नेकपा माओवादी केन्द्रका उप महासचिव गिरिराजमणी पोखरलले राजा ल्याउँछु भन्नु बगेको समुन्द्रलाई फर्काउँछु भन्नु जस्तै रहेको बताउनुभएको छ । आज (बुधबार)उदयपुरको कटारीमा पार्टीको तेस्रो नगर अधिवेसनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका पोखरेलले यस्तो बताउनुभएको हो ।
लोकतन्त्र , गणतन्त्रका लागि हिजो सबै पार्टीले लडेको स्मरण गर्दै उहाँले फेरी पनि सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुयो । “हिजो रक्तरञ्जित महान जनयुद्ध , वृहत जनआन्दोलन , मधेस आन्दोलन , आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौं ।”उहाँले भन्नुभयो ,“हामीले निर्माण गरेको संविधान हो , गणतन्त्र ,समावेशिता , समाजवादको उपलब्धि माथी प्रहार भईरहेको छ ।”
माओवादी नेता पोखरेलले यस विषयमा सरकारको धारणा आउनुपर्ने पनि बताउनुभयो । पछिल्लो समय राजतन्त्रवादीहरु गणतन्त्रमाथी धावा वोल्न खोजेको उहाँको आरोप थियो ।“यो सम्भव छैन् तर हामीले ल्याएको यो प्रणालीमा हामी गम्भिर भएनौं भने दक्षिणपन्थीहरुले शीर उठाउँछन् ।”पूर्वमन्त्री पोखरेलले थप्नुभयो ।
नेपाली जनताको चेतना धेरै माथि उठिसकेको वताउँदै उहाँले सबै मिलेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा उहाँले कटारीका सहिद परिवारहरुलाई सम्मान पनि गर्नुभयो ।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार, ,