पर्यटन

कटारीमा सामुदायिक वन दिवस २०८२ विशेष कार्यक्रम सम्पन्न


२७ श्रावण २०८२, सोमबार, ,


कटारी / “समयमै कार्ययोजना नवीकरण गरौं, सामुदायिक वनलाई गतिशील बनाऔं” भन्ने मूल नाराका साथ कटारी–५, उदयपुरस्थित सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सामुदायिक वन दिवस २०८२ विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष मोहनबहादुर तामाङले वन ऐन, वन नियमावली, समूहको कार्ययोजना र विधानबारे जानकारी लिन र समयमै नवीकरण गरी सामुदायिक वनलाई अगाडि बढाउन सुझाव दिनुभयो।

उहाँले वार्षिक कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा पनि जोड दिनुभयो। कटारी नगरभित्रका विभिन्न समूहका अध्यक्ष र पदाधिकारीहरूको सहभागिता रहेको कार्यक्रममा, अति विपन्न ५ उपभोक्तालाई १/१ थानका दरले खाट वितरण गरिएको थियो। त्यस्तै, २२ घरधुरीलाई प्रति घरधुरी २ वटाका दरले सिडलेस लिचीका बिरुवा वितरण गरिएको र पर्यापर्यटन क्षेत्रमा विभिन्न फूलका बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको आयोजक सिसाघारी सामुदायिक वन उपभोक्ता समूह तथा सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रका अध्यक्ष दिलबहादुर अधिकारीले जानकारी दिनुभयो। कार्यक्रममा स्थानीय महासंघ कटारी, डिभिजन वन कार्यालय उदयपुर (त्रिवेणी) र सब–डिभिजन वन कार्यालय कटारीले व्यवस्थापन तथा सहयोग गरेको थियो।

प्रकाशित : २७ श्रावण २०८२, सोमबार, ,