कटारी / उदयपुरको रौतामाई गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा करार कर्मचारी शिर्षकमा ४७ लाख ३९ हजार ६ सय ४४ अनियमितता भएको पाईएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन २०८२ का अनुसार गाउँपालिकाले गाँउसभाबाट स्वीकृत भएको सगठन तथा व्यवस्थापनसर्वेक्षण अनुसार प्रमुख प्रशासकीय अधिकृत सहित ७७ जनाको दरवन्दी स्वीकृत रहेकोमा ५९ जना पदपूर्ती भई वाँकी १८ पद रहेकोमा करार कर्मचारी ४३ जना राखी वर्षभरमा जम्मा .१ करोड १० लाख भुक्तानी गरेको पाईएकाले उक्त रकम अनियमित भएको हो ।
महालेखाका अनुसार गाउँपालिकाले अमिन पदमा एकजना दरवन्दी भएकोमा दुईजना राखेर , ४ जना सहायक कम्प्युटर अपरेटर राखेर ,दरबन्दी नै नरहेको चार मुखिया राखेर ,सव ईन्जिनियर एकजना राखेर ,सहायक चौथौ दुईजना राखेर ख्वाएको तलब अनियमित भएको हो । ऐनले तोकेको पद बाहेक कर्मचारी राखेर तलब ख्वाउँदा गाउँपालिका अनियमिततामा फसेको हो ।
त्यसैगरी पालिकाले शिक्षक विद्यार्थी अनुपात विश्लेषण नगरी रिक्त नरहेको दरबन्दीमा नियुक्ति प्रकृयामा समेत प्रतिष्पर्धा गरेको नदेखाई शिक्षक नियुक्ति गर्दा पच्चीस लाख ६१ हजार अनियमितता गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।त्यस्तै संघिय र पालिकाबाट समेत तीन विद्यालयमा सहयोगी र सहायक कर्मचारीको नाममा दोहोरो भुक्तानी दिईएको पाईएकाले ७ लाख ८० हजार असुल गर्नुपर्ने देखिएको छ ।
जसमा जलकन्या आधारभुत विद्यालय ,जनता आधारभुत विद्यालय , दिव्यज्योती आधारभूत विद्यालय रहेका छन् ।प्रतिवेदनमा खरिद कार्यमा ओभरहेड शिर्षकमा पनि १ लाख २५ हजार ९ सय ५१ अनियमितता भएको उल्लेख गरिएको छ ।ग्याविन जाली खरिदमा जानुका सप्लायर्स एण्ड ट्रेडर्सले फरक दर राखेर यस्तो अनियमितता गरेको रकम गाउँपालिकाले भुक्तानि दिएको पाईएको हो ।
त्यसैगरी व्यवस्था नै नभएको स्वकीय सचिव तथा कानुनी सल्लाहाकार राखेर पालिकाले पाँच लाख ६७ हजार नौ सय ५८ तलब भुक्तानी गर्दा समेत अनियमितता भएको प्रतिवेदनले देखाएको छ ।
स्वकीय सचिव राख्नका लागी आन्तरिक आय एंवं कार्यालयको कार्यबोझलाई आधार लिनुपर्नेमा व्यवस्था भएकोमा सो को विश्लेषण गरेको पाइएन। यसरी विश्लेषण नै नगरी कानुनी सल्लाहाकार नियुक्त गरी पारिश्रमिक भुक्तानी गरि अनियमिता गरिएको पाईएको हो ।
मावि मुर्कुचीमा विज्ञान प्रदशर्नी गर्दा समेत तीन लाख २७ हजार पाँच सय अनियमितता भएको छ । दुईवटा अलग फर्मबाट काम गर्दा अनियमितता देखिएको महालेखाले जनाएको छ ।त्यस्तै कार्यालयले गर्नुपर्ने काम समेत उपभोक्ता समितिलाई गराउँदा तीनलाख ४४ हजार १८ रुपैंया अनियमितता भएको छ ।वडा नम्बर ४ को वेराघेरा र ३ को फिल्ड निर्माणमा यस्तो अनियमितता देखिएको हो ।
प्रतिवेदन अनुसार गाउँपालिकाको कुल बेरुजु ४ करोड ९२ लाख ६४हजार ९ सय २५ रुपैंया रहेको छ ।जसमा असुल गर्नुपर्ने २६ लाख ३५ हजार ३ सय २ ,अनियमितता भएको ८६ लाख ६६ हजार ७१ ,प्रमाण पेश नभएको १७ लाख ७० हजार २ सय ६२ लगायतका वेथिति पालिकामा देखिएको छ ।

प्रतिक्रिया