कला/साहित्य

झमक घिमिरे : अक्षरहरूको उज्यालोमा जीवनको संघर्ष



झमक घिमिरे नेपाली साहित्याकाशकी ती अद्भुत नक्षत्र हुन्, जसले शब्दहरूलाई आफ्नो शक्ति बनाएर अपांगताको अँध्यारोलाई चुनौती दिइन्। शारीरिक असक्षमतालाई पन्छाउँदै, उनले आफ्नो दृढ इच्छाशक्ति र साहसको भरमा नेपाली साहित्यमा एउटा उच्च स्थान बनाउन सफल भइन्।

जीवन संघर्ष र साहित्यिक यात्रा :

झमक घिमिरे २०३७ साल साउन २१ गते धनकुटामा जन्मिएकी थिइन्। जन्मजातै उनी सेरेब्रल पाल्सी रोगले ग्रसित थिइन्, जसका कारण उनका हातखुट्टा चलेनन्, बोल्न सकिनन्। तर, उनका आँखाहरूमा सपना थियो, मनमा शब्दहरू थिए। हातले कलम समात्न नसकेपछि उनले खुट्टाको औंलाले लेख्न सुरु गरिन्। यसरी संघर्षको धरातलबाट उठेर साहित्यिक यात्रा थालेकी उनले आफ्नो आत्मकथा “जीवन काँडा कि फूल” लेखिन्, जुन नेपाली साहित्यमा प्रेरणादायक र ऐतिहासिक कृति बन्यो।

उपन्यास, निबन्ध, कविता र पुरस्कारहरू

झमक घिमिरेका कृतिहरू केवल व्यक्तिगत संघर्षको प्रतिबिम्ब मात्र होइनन्, ती हजारौँ अपांगता भएका व्यक्ति र समाजका वञ्चित वर्गहरूको कथा हुन्। उनका चर्चित कृतिहरूमा निम्न रहेका छन्:

जीवन काँडा कि फूल (आत्मकथा)

मान्छेभित्रका योद्धाहरु ( कविता संग्रह )

आफ्नै चिता अग्निशिखातिर ( कविता संग्रह )

संकल्प ( कविता संग्रह )

पर्दा,समय र मान्छेहरु ( कथा संग्रह )

नौलो प्रतिविम्ब

कर्मणा आदि

उनले नेपाली साहित्य र समाजमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न सम्मान र पुरस्कार प्राप्त गरेकी छिन्, जसमध्ये केही प्रमुख यस प्रकार छन्:

मदन पुरस्कार (२०६८) – ‘जीवन काँडा कि फूल’ को लागि

श्रीकृष्ण श्रेष्ठ प्रतिभा पुरस्कार

राष्ट्रसेवक पदक

डॉ. जगदीश गजमेर स्मृति पुरस्कार

नेपाल प्रज्ञा प्रतिष्ठान पुरस्कार

वर्तमान अवस्था: उपचारका लागि सहयोग आवश्यक :

यति धेरै संघर्ष गर्दै आएका झमक घिमिरे अहिले गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित छिन्। ढाडको नसा च्यापिएर असह्य पीडा भइरहेको छ भने कहिलेकाहीँ पेट दुखाइले समेत सताउँछ। यस्तो अवस्थामा पनि उनी आफ्नो कलम रोक्न चाहँदिनन्, तर आर्थिक अभावले उनको उपचारमा समस्या आइरहेको छ।

उनका बुबा प्यारालाइसिसको बिरामी अनि,आमा पनि रोगी हुनुहुन्छ, बहिनीहरू बेरोजगार छन्, र भाइ वैदेशिक रोजगारीमा छन्। यस्तो परिस्थितिमा झमक घिमिरेको उपचारमा राज्यले विशेष ध्यान दिनु जरुरी छ। साथै, सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साहित्यप्रेमीहरू, समाजसेवीहरू, र उदार मन भएका व्यक्तिहरूले पनि सहयोगको हात अघि बढाउनु आवश्यक छ।

हाम्रो सानो सहयोग, झमकको जीवनको ठूलो आधार :

झमक घिमिरेले आफ्नो जीवनभरि समाजलाई प्रेरणा दिइन्, साहित्यलाई समृद्ध बनाइन्। अब उनको स्वास्थ्य संकटमा हामीले उनलाई साथ दिनुपर्छ। जसरी उनले अक्षरको संसार उज्यालो बनाइन्, त्यसैगरी हामी सबै मिलेर उनको जीवनमा उज्यालो फर्काउन सक्दछौँ। जो जसले सकिन्छ, आर्थिक वा अन्य कुनै माध्यमबाट उनको उपचारमा सहयोग गरौँ।

झमक घिमिरे नेपाली समाजका लागि मात्र होइन, विश्वभरका संघर्षशील आत्माहरूका लागि प्रेरणाको स्रोत हुन्। आउनुहोस्, हामी पनि उनको यो कठिन घडीमा साथ दिऔं !

( शिक्षण पेशामा रहेर साहित्य , गीत तथा विभिन्न सिर्जनाहरु लेख्नुहुने कटारी १४ का विष्णु मुरीको फेसबुकबाट हामीले यो लेख साभार गरेका हौं – सम्पादक )

प्रकाशित : २२ फाल्गुन २०८१, बिहिबार, ,