- ऋषि राई
(कुनाको टेबल)
एउटा बोल्यो
‘पार्टी त काँग्रेस राम्रो’
अर्को बोल्यो
‘पार्टी त एमाले राम्रो’
चर्को स्वरमा झन अर्कोले थप्यो
‘थैट मुलाहरु पार्टी त माओवादी राम्रो ’
क्रमशः सबै पार्टीहरु
राम्रो हुनुको प्रमाण पेश भयो ।

(पल्लो कुनाको टेबल)
कति माया गरेको
त्यसले मलाई छोडी यार
एउटा भक्कानियो
‘छ्या के रोएको खुट्टा भए जुत्ता कति कति’
प्वाक्क जवाफ फर्कायो
‘मन परेको जुत्ता पो जुत्ता
नत्र खालि खुट्टै ठिक
दयाहाङ्गको डाईलग सुनिनस’
साथी अलमल्ल मौन बस्यो
र , एउटा पाईलट चुरोट सल्कायो ।
(पल्लो कुना छेउको टेबल)
‘यो मेयर के मेयर पहिलाको मेयर जति नि काम गरेन’
वोलि भुईमा खस्नै भ्याएन
‘यसले पनि गरिराछन नि देख्नुपर्यो नि ’
उसले यसपटक राम्रो ठेक्का हत्याएको थियो ।
(नजिकैको टेबल)
लेनिनको पुरै जिवनी सुन्यो
माक्र्सको जिवनी पनि सुन्याे
विपिको पनि सुन्यो
वहुदलिय जनवाद पनि सुन्यो
समाजवाद पनि सुन्यो
सबै सबै सुन्यो
रेमिट्यान्स सुन्यो
ट्रम्पको काम सुन्यो
जी सिन पिङ्गको काम सुन्यो ।
(सँगैकाे टेबल)
ईपिएस सुन्यो
फ्री भिस्सा सुन्यो
जापान सुन्यो
मलेसिया सुन्यो
साउदी सुन्यो
कतारबाट कसरी
सुन ल्याउने सुन्यो
कृषिमा कसरी कमाउने सुन्यो ।
सबै सबै सुनिसकेपछी
क्रमश : सबै निस्किन्दै गए
साहुनीले
घर्याक्क भट्टीको सटर
बन्द गर्दै थियो ।
‘जे सुकै होस मलाई बाल
आज विन्दास सुत्ने हो ।’
हिसाब गरेर
लर्खराउँदै निस्कियो
भट्टीको अन्तिम ग्राहक ।
- कटारी ,३ उदयपुर
प्रतिक्रिया