२ फागुन , शुक्रबार ,कटारी / कटारी नगरपालिका वडा नम्बर १ खसिबासको चुरे वन क्षेत्रमा रहेको जगदेश्वरी महादेव गुफामा पनि दर्शन गर्न आन्तरिक पर्यटकहरु आउन थालेका छन् । धार्मिक पर्यटनको प्रशस्त सम्भावना भएपनि ओझेलमा रहेको गुफासम्म आउन जान सहजहँदै गएपछी दर्शनार्थीहरु आउन थालेका हुन् ।
गुफासम्म जानका लागि कटारी नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६ लाख १८ हजार र वडा कार्यालयको १ लाखको लगानीमा महादेव गुफा जाने बाटोको मध्यभागमा रहेको देउरालीसम्म वाटो निर्माण गरिएको हो । “देउरालीसम्म हिउँदमा मोटरसाईकल र साना सवारी पुग्ने बाटो बनेपछी मान्छेहरु नियमित आउन थालेका छन् । ”सडक निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर तामाङ्गले भन्नुभयो ,–“आउजाउ बढेपछी फेरी पेरुङ्गे दहमा बाटो सहज बनाउन दुईलाख बजेट परेको छ ।”
मोटरसाईकल र साना सवारीमा देउराली सम्म र त्यहाँबाट आधाघण्टा पैदल हिंडेपछी गुफा पुगिन्छ ।अप्ठ्यारो बाटोमा पनि आउजाउका लागि स्थानीयले श्रमदानबाट गोरेटोलाई सहज बनाएका छन् । यो गुफा नगरको अत्यन्तै महत्वपूर्ण गुफा रहेको वडाध्यक्ष पदमलाल मगरले बताउनुभयो । वडाध्यक्ष मगरका अनुसार यहाँ वालाचर्तुदशीमा मेला लाग्नुका साथै दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।
प्राकृतिक संरचनाका आधारमा निकै मनमोहक यस गुफामा निरन्तर पानी झर्ने र पानी भित्र विभिन्न प्रतिमाहरु रहेका छन् । यहाँ पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ । कटारी बजारबाट २० किलोमिटर कच्ची सडक कटारी–हडैया–खसिबासहुँदै साना सवारीमा यहाँ पुग्न सकिन्छ ।
प्राकृतिक रुपमै पृथक यस गुफा र अन्य वाटोहरुमा पनि श्रमदानबाट आउजाउमा सहज बनाउन काठको साँघुहरु वनाईएको छ । उचित सडक व्यवस्थापन , प्रचार प्रसार र आवश्यक संरचनाहरु निर्माण गर्न सके यो गुफामा धार्मिक पर्यटनहरु भित्रिने प्रशस्त सम्भावना रहेको स्थानीयहरु वताउँछन् ।

प्रतिक्रिया