समाचार

३१ औं विश्व आदिवासी दिवश कटारीमा धुमधामका साथ मनाईयो



कटारी/ शनिबार ९ अगष्टका दिन कटारीमा पनि ३१ औं विश्व आदिवासी दिवश धुमधामका साथ मनाईएको छ । प्राकृतिक स्रोत , जल जमिन र जंगल माथि आदिवासी जनजातिको अधिकार सुनिष्चित गर , युएनड्रिप र आईएलओ १६९ सम्बन्धि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर भन्ने मुल नाराका साथ दिवश मनाईएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीको आयोजनामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , विशेष अतिथि महासंघका जिल्ला समन्वय परिषद उदयपुरका अध्यक्ष डिबी गुरुङ्ग , ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख उपसचिव कोपिला थुलुङ्ग राई लगायतका अतिथिहरु हुनुहुन्थ्यो । परिषदका कटारी अध्यक्ष डिकबहादुर श्रेष्ठका अनुसार महासंघको भवनबाट सुरु भएको वृहत झाँकी सहित जातजातिहरुको र्यालीले बजार परिक्रमा पश्चात भूगोलपार्कमा वृहत औपचारिक सभा गरिएको थियो ।
कार्यक्रममा महासंघमा आवद्ध भातृ संगठनहरु ,किरात राई यायोक्खा , दनुवार जागरण समाज , नेपाल मगर संघ , सुनुवार सेवा समाज , नेपाल तामाङ्ग घेदुङ्ग , नेपाल माझी उत्थान संघ , भुजेल समाज , गुरुङ्ग समाज , नेवार समाजका नगर कमिटीहरुको नेतृत्वमा र्याली सहित झाँकी प्रदशर्न गरिएको थियो । विविध जातिय पहिचान झल्कने झाँकी सहितको प्रदशर्नी कार्यक्रममा थियो ।
कार्यक्रमको अवसरमा नगर भित्रबाट आदिवासी जनजाति समुदायबाट एसईई उत्तीर्ण शुभना दर्लामी लगायत आदिवासी जनजातिको क्षेत्रमा योगदान दिएकाहरुलाई सम्मान समेत प्रदान गरिएको थियो । कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर श्रेष्ठले सवै जातिजातिहरुको संस्कार संस्कृतिको जगेर्नाका लागि नगरले काम गरिरहेको बताउनुभयो ।
कटारी नगरपालिकाको सहयोगमा महासंघले दिवश मनाउने गरेको छ । कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरु , नगर भित्र रहेर भातृसंगठनमा काम गरिरहेका मातहतका माथिल्लो समितिका पदाधिकारीहरु , बुद्धिजिवीहरु, भातृसंगठनका पदाधिकारहरुले शुभकामना दिएका थिए ।

प्रकाशित : २७ श्रावण २०८२, सोमबार, ,