खेलकुद

साफ महिला च्याम्पियनसिप: नेपाल र भारत पहिलो हाफमा बराबर


२७ कार्तिक २०८१, मंगलबार, ,


साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपाल र भारत पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

काठमाडौंको दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमर!ण गरेपनि डिफेन्सले खतरा टारे ।

भारतले किकअफबाट नै सिधै गोलपोस्टमा सट लिँदै आफ्नो आक्रामक रणनीतिको झल्को दिएको थियो । कप्तान एन्जिला तुम्बापो सुब्बाले उक्त प्रहार बचाइन् । त्यसको दुई मिनेटमै एन्जिलले पुन: अर्को बचाउ गर्दै भारतलाई हावी हुन दिइनन् ।

१९ औं मिनेटमा ज्योति चौहानले कर्नरमा गरेको हेडरलाई डिफेन्डर अमृता जैशीले ६ यार्ड बक्स भित्र रोकिन् । उक्त रिबाउन्डमा ज्योतिले बक्स भित्रबाट नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२३ औं मिनेटमा भारतकी मनिषाले बायाँ विंगबाट विमला विकलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार प्रयासले डिफेन्स लाइन काट्न सकेन ।

३१ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतीय गोलरक्षक चानुले रोकिन् । रिबाउन्डमा अमिशा कार्कीले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार चानुले पन्च गर्दै मुस्किलले बचाइन् ।

इन्ज्युरी समयको चौथो मिनेटमा भारत गोल गर्ने अवसरमा चुक्यो । मनिषाको फ्रिकिकमा गोलरक्षक एन्जिलाले पहिलो बचाउ गरेपछि ज्योति चौहान र अरुणा बागको लगातार प्रहार विफल भयो । त्यसपछि मनिषा आफैंले लगातार गरेको प्रयासमा पनि नेपाली डिफेन्सले बललाई पोस्टमा जान दिएन ।

त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

यो सामाग्री हाम्रो खेलकुदबाट लिएको हो ।

प्रकाशित : २७ कार्तिक २०८१, मंगलबार, ,